स्थापनाः २०३२ साल (सन् १९७६)
म. क्षे. स्थापनाः २०५५ साल (सन् १९९८)
क्षेत्रफलः १,७१० वर्ग कि.मि.
म. क्षे. क्षेत्रफलः ४२० वर्ग कि.मि.
लाङटाङ राष्ट्रिय निकुञ्ज नेपालको पहिलो हिमाली राष्ट्रिय निकुञ्ज तथा दोस्रो ठूलो राष्ट्रिय निकुञ्ज हो । यो निकुञ्ज नेपालको संघीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको हिमाली राष्ट्रिय निकुञ्ज समेत हो । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको कुल १७१० वर्ग कि.मि. क्षेत्रफल समावेश गरी वि.स. २०३२ चैत्र ९ गते यस निकुञ्जको स्थापना भएको हो । पदयात्राको लागि सगरमाथा राष्ट्रिय निकुञ्ज र अन्नपूर्ण संरक्षण क्षेत्र पछिको तेस्रो गन्तव्य स्थलको रुपमा यो निकुञ्ज प्रख्यात रहेको छ । निकुञ्जको सिमाना भित्र रहेका गाउँ बस्ती र वरिपरिका प्रभावित ४२० वर्ग कि.मि. क्षेत्रलाई समेटेर वि.स. २०५५ बैशाख १४ गते निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा भएको हो । निकुञ्ज क्षेत्रमा हुने वन पैदावारको चापलाई न्यूनिकरण गर्न र निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको प्राकृतिक स्रोतहरूको उचित व्यवस्थापनको लागि निकुञ्ज अन्तर्गत २१ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र १९१ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता गठन भएका छन् ।
यस निकुञ्जको केही भाग फैलिएर उत्तरमा मित्रराष्ट्र चीनको सिमानासम्म पुगेको छ । लाङटाङ लिरुङ (७,२४३ मि.) र हिमालचुली (७,८६४ मि.) जस्ता हिमालहरूले यसलाई प्राकृतिक सुन्दरता प्रदान गरेका छन् । यस निकुञ्जबाट निस्केका नदीहरू त्रिशूली पश्चिमतर्फ र सुनकोशी पूर्वतर्फ बगेका छन् । यहाँ खोटे सल्ला, गोब्रे सल्ला, गुराँस आदिका जगंलहरू पाइन्छन् । कोणधारी जंगलमा पाइने एकमात्र पतझड सल्ला (लाङटाङ सल्ला) यस निकुञ्जको विशिष्ट सम्पत्ति हो ।
निकुञ्जलाई सुन्दर एवं आकर्षक बनाउन हाब्रे (रेड पाण्डा), कस्तुरी मृग, हिमाली भालु, चितुवा, थार, घोरल, रातो बाँदर, लङ्गुर जस्ता वन्यजन्तुहरू गहना भएका छन् । यस निकुञ्ज भित्र तिब्बती धर्मको “बोन पो” गुम्बा तथा सांस्कृतिक स्थलहरू छन् भने धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्ड हिन्दू धर्मावलम्बीहरूको केन्द्र बनेको छ । गोसाइँकुण्ड र वरिपरिका तालहरूलाई सन् २००७ मा अन्तराष्ट्रिय महत्वको सिमसारको सूचीमा राखिएको छ ।
राजधानीबाट नजिक र सडकले जोडिएको भए तापनि दुर्गम क्षेत्रमा रहेको यो राष्ट्रिय निकुञ्ज पदयात्री पर्यटकहरूका लागि निकै लोकप्रिय रहेको छ । पर्या पर्यटनको विकासबाट यहाँका स्थानीय बासिन्दाहरूको जीविकोपार्जनमा प्रत्यक्ष रूपमा टेवा पुगेको छ ।